सरकारले नेपाली कामदारलाई करार अवधिमा कम्तिमा एकपटक आफ्नो परिवारलाई कोरिया लैजान पाउने व्यवस्था गर्न प्रस्ताव गरेको छ ।
श्रम तथा रोजगरमन्त्री गोकर्ण बिष्टले कोरियन राजदूत पार्क योंग सिकलाई कामदारको सम्झौता अवधिभित्र कोरियामै आफ्ना परिवारका सदस्यलाई भेट्ने अवसर मिलाइदिन प्रस्ताव गरेका हुन् । ‘कोरिया पुगेका केही कामदारमा डिप्रेशनको समस्या देखिएको छ । मानसिक रुपमा उब्जिएका समाधान गर्न पनि यसले भूमिका खेल्छ,’ मन्त्री बिष्टको भनाइलाई उद्धृत गर्दै भेटमा सहभागी ईपीएस कोरिया शाखाका निर्देशक कृष्णप्रसाद खनालले भने ।
कोरियन राजदूतले सकारत्मक जवाफ दिँदै आफ्नो सरकारले पहल गर्ने बताएका छन् ।
कोरिया पुगेका कामदारले निश्चित अवधिका लागि परिवारका सदस्यलाई त्यहाँ लैजान पाएमा त्यसले मनोवैज्ञानिक रुपमा पनि निकै उत्साह थप्ने खनाल बताउँछन् ।
‘करार हुने ४ वर्ष १० महिनाको बीचमा कम्तिमा एकपटक कामदारको परिवार त्यहाँ जान पाए भने त्यसले निकै ठूलो अर्थ राख्छ,’ उनले भने, ‘कामदार र उनीहरुका परिवारलाई पनि कोरियाली रोजगारीप्रति थप गौरव अनुभुति हुन्छ । परिवारसँग विदेशमै बिताइने समयले कामदारको मनोबल पनि बढ्छ ।’
परिवारसँग थोरै समयमा विदेशमा विदा मनाउन पाए त्यसले अहिले कोरियमा बढ्दो रुपमा देखिकएको आत्महत्या पनि कम हुने विश्वास सरकारको छ ।
यसैगरी सरकारले नेपाली नर्सहरुका लागि पनि कोरियामा उचित अवसर मिलाइदिन आग्रह गरेको छ । कोरियामा अहिले विदेशबाट नर्सिङ गरेर कामका लागि पुग्नेको संख्या बढेको छ । त्यहाँ नर्सिङ गरेकाहरुको अभाव छ । त्यसका आधारमा नेपालीलाई पनि सो मौका उपलब्ध गराउन यस्तो प्रस्ताव गरिएको हो ।
ConversionConversion EmoticonEmoticon