रेमिट हाइड्रो’ मा विदेशमा काम गर्ने नेपालीले २९ प्रतिशत लगानी गर्न पाउने

वैदेशिक रोजगारमा गएका नेपालीको आम्दानी जलविद्युत विकासमा आकर्षित गर्ने गरी खोलिएको ‘रेमिट हाइड्रो लिमिटेड’ मा उनीहरूले करिब २९ प्रतिशत लगानी गर्न पाउने भएका छन् ।

रेमिट हाइड्राले ताप्लेजुङमा निर्माण हुने ७१.५ मेगावाटको घुन्सा खोला र ७५.६ मेगावाटको सिम्बुवा खोला अघि बढाइरहेको छ । दुवै आयोजनाको अहिले सम्भाव्यता तथा वातावरणीय अध्ययन भइरहेको छ ।

रेमिट हाइड्रोमा २९ प्रतिशत विदेशमा काम गर्ने नेपालीको, १० प्रतिशत स्थानीय तथा आयोजना प्रभावित र १० प्रतिशत सर्वसाधारणको सेयर लगानी हुने गरी संरचना तयार गरिएको छ । यस्तै, बाँकी ५१ प्रतिशत जलविद्युत कम्पनीकै सेयर रहनेछ । दुवै आयोजनामा ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजी लगानी गर्ने प्रारम्भिक माडालिटी तयार भएको छ ।
वैदेशिक रोजगारमा गएका कामदारको लगानी सुनिश्चित गर्ने उद्देश्यले यसरी प्रारम्भिक पुँजीगत संरचना तयार गरिएको छ । सरकारले वर्षौंदेखि वैदेशिक रोजगारमा गएका कामदारको आम्दानी जलविद्युतमा आकर्षित गर्ने बताउँदै आएको थियो ।

जलविद्युत विकासमा लगानी व्यवस्थापन गर्ने उद्देश्यले २०६८ मा लगानी कम्पनी खोलिएको थियो । सरकारको योजनाअनुसार काम गर्न कम्पनीले नै रेमिट हाइड्रो स्थापना गरेको हो ।

सम्भाव्ता अध्ययन स्तरोन्नती गर्दै विस्तृत आयोजना प्रतिवेदन तयार गर्न विभिन्न कम्पनीसँग प्रस्ताव आह्वान गरिएको घुन्सा खोलाका आयोजना निर्देशक नगेन्द्रनाथ ज्ञवालीले बताए । ‘आयोजनाको क्षमता बढ्ने संकेत देखिएको छ, तर डिपिआर तयार नभई यकिन हुँदैन,’ उनले भने ।
यसैगरी, सिम्बुवा खोलाको सम्भाव्यता तथा वातावरणीय अध्ययन भइरहेको आयोजना निर्देशक कृष्ण न्यौपानेले बताए । दुवै आयोजना जलविद्युत कम्पनी अन्तर्गत रेमिट हाइड्रोबाट अघि बढेकाले हाल आवश्यक आर्थिक स्रोत त्यहीँबाट व्यवस्थापन गरिएको छ ।
Urjakhabar.com

Previous
Next Post »