चौबीस वर्षमा वैदेशिक रोजगारीमा जाने संख्या ह्वात्तै बढ्यो

स्वदेशमा रोजगारीको अवसर नभएपछि २०४६ पछि वैदेशिक रोजगारीमा जानेको संख्यामा हजारौँ गुणाले वृद्धि भएको छ । केन्द्रीय बैंकले आज सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार आव २०५०/५१ मा वैदेशिक रोजगारीमा जानेको संख्या मात्रै तीन हजार ६०५ थियो । यो संख्या निरन्तर बढ्दै आर्थिक वर्ष २०७४ सम्म आइपुग्दा उल्लेख्य परिवर्तन भएको छ । 
आर्थिक वर्ष २०५०÷५१ मा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या तीन हजार ६०५ रहेकामा सो संख्या चालु आवमा आइपुग्दा यस वर्ष मात्रै तीन लाख ९८ हजार नेपाली वैदेशिक रोजगारीमा गएका छन् । करिब ४५ लाख नेपाली यतिखेर वैदेशिक रोजगारीमा रहेको पाइएको छ ।
वैदेशिक रोजगारीमा गएका मध्ये आव २०५०÷५१ मा ९१.८ प्रतिशत अर्थात तीन हजार ३०८ जना निःशुल्क प्रवेशाज्ञा तथा टिकट लागू भएका देश गएका थिए । यस्तो संख्या आव २०७४ मा ९४.९ प्रतिशत अर्थात् तीन लाख ७९ हजार रहेको छ ।
वैदेशिक रोजगारीमा जाने कामदारको हित संरक्षण गर्ने उद्देश्यले सरकारले २०७२ जेठ २६ गते देखि मलेसिया, कतार, साउदी अरेविया, संयुक्त अरब इमिरेट्स, कुवेत, बहराइन र ओमानमा रोजगारीका लागि जाने कामदारलाई निःशुल्क प्रवेशाज्ञा तथा टिकटको व्यवस्था लागू गरेको छ ।
वैदेशिक रोजगारीमा गएकामध्ये ८० प्रतिशत मेनपावर कम्पनीमार्फत् गएको अध्ययनमा पाइएको छ । एकै व्यक्ति १३ औँ पटकसम्म वैदेशिक रोजगारीमा गएको देखिएको छ ।
विदेश गएका मध्ये करिब एकतिहाई कामदारले मात्र सरकारी प्रावधानअनुसार न्यूनतम शुल्क तिरेका छन् । एक चौथाईले रु ५० हजारभन्दा बढी रकम वैदेशिक रोजगारदाता कम्पनीलाई बुझाएको देखिन्छ । तर औसतमा विदेश जाने कामदारको लागत भने घटेको देखिएको बैंकको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

वैदेशिक रोजगारीमा जाने लागत सोे प्रावधान लागू भएपछि केही घटेतापनि अझै उच्च रहेको छ । एकतिहाई भन्दा बढी कामदार रु ५० हजार भन्दा बढी खर्च गरी वैदेशिक रोजगारीमा जाने गरेका छन् । केवल १५ प्रतिशत मात्र रु १० हजारसम्मको कुल खर्चमा वैदेशिक रोजगारीमा जान सकेका छन् ।
भारत, पाकिस्तान र श्रीलंकामा भन्दा औसतमा नेपालबाट वैदेशिक रोजगारीको लागत बढी छ । निःशुल्क प्रवेशाज्ञा र टिकटको व्यवस्था लागू हुनुपूर्व प्रति कामदार औसत कुल लागत रु ८६ हजार रहेकामा यो व्यवस्था लागू भएपछि रु ५१ हजारमा झरेको छ ।
त्यसैगरी, यो व्यवस्था लागू भएपछि वैदेशिक रोजगार कम्पनीलाई तिरेको रकम औसतमा रु ८१ हजारबाट रु ४४ हजारमा झरेको पाइएको छ । रासस
Previous
Next Post »